मेचीनगर । नेपाल तामाङ घेदुङ कोशी प्रदेशको दोस्रो ऐतिहासिक अधिवेशनबाट प्रदेश अध्यक्षमा जगत बहादुर तामाङ चयन भएका छन् । मोरङको पत्थरीशनिश्चरेमा सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा मेचीनगर निवासी जगत चयन भएका हुन् ।

सामाजिक तथा शैक्षिक क्षेत्रका अगुवा जगत यसअघि घेदुङको झापा जिल्ला अध्यक्ष थिए । आफ्नो कार्यकाललाई रचनात्मक बनाएपछि उनलाई थप प्रदेशको जिम्मेवारी दिइएको छ । हाल उनी धुलाबारीस्थित हिमालयन इङ्लिस एकाडेमीका प्रिन्सिपल समेत हुन् ।

अन्य थुप्रै संघसंस्थामा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । प्रदेश अधिवेशनबाट उपाध्यक्षमा एकराज तामाङ र रुपनारायण तामाङ गोले, महिला उपाध्यक्षमा बिनिता थिङ तामाङ, मुख्य सचिवमा फणीन्द्र तामाङ चयन भएका छन् । यस्तै, सदस्यहरुमा हस्ताबहादुर तामाङ, खड्काकुमार तामाङ, धनबहादुर तामाङ, टेकबहादुर तामाङ, इन्द्रकुमार योन्जन, जयबहादुर तामाङ र जितेन्द्र तामाङ चयन भएका छन् ।

नेपाल तामाङ घेदुङ कोशी प्रदेशका अध्यक्ष रेखबहादुर घिसिङको सभापतित्वमा तथा नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।नेपाल तामाङ घेदुङ वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन, कोशी प्रदेशका पूर्व अध्यक्ष मित्रसेन योन्जनले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कोशी प्रदेश मुख्य सचिव तिलक पाख्रिन तामाङले गरेका थिए ।