धुलाबारी, ९ बैशाख । बैशाख । मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै व्यवसायी भूमि पौडेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
हाल संघका उपाध्यक्ष रहेका पौडेलले आफू अध्यक्ष पदका लागि उपयुक्त उम्मेदवार भएको दाबी गरे । व्यवसायीका समस्या र चुनौतीलाई नजिकबाट बुझेको अनुभवका आधारमा आफूले प्रभावकारी नेतृत्व दिन सक्ने उनको भनाइ थियो । ‘व्यवसायीका पीरमर्का हिजो पनि बुझेको थिएँ, भोलि पनि तिनकै हितमा लागिरहनेछु,’ उनले भने ।
पौडेलले निर्वाचनलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर सहमति र सहकार्यको आधारमा अघि बढाउन आफू तयार रहेको स्पष्ट पारे । उनले संघभित्र एकता कायम राख्दै समग्र व्यवसायिक वातावरण सुधार गर्ने आफ्नो प्राथमिकता रहने बताए ।
अध्यक्ष पदमा निर्वाचित भए व्यवसायीको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि सहजीकरण गर्ने योजना सुनाए । साथै, धुलाबारी बजारको व्यापारिक गतिविधि बढाउन सुरक्षा व्यवस्थामा सुधार ल्याउन सम्बन्धित निकायसँग सहकार्य गर्ने उनले बताएका छन् ।
उनले स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन सुदृढ बनाउने तथा नयाँ अवसर सिर्जना गर्ने कार्यमा आफू सक्रिय रहने पनि बताए । उनले संघलाई व्यवसायीमैत्री बनाउँदै समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य अघि सारेका छन् ।
मेची उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लिएर उम्मेदवारी घोषणा गर्न थालेपछि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यस्तो अवस्थामा व्यवसायी पौडेलको उम्मेदवारी घोषणाले चुनावी माहोल थप तातेको छ ।

















