मेचीनगर । मेचीनगर–३ वडा कार्यालय अन्तर्गत रहेको खेलकुद समितिको आयोजनामा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता उत्साहजनक रूपमा अघि बढिरहेको छ । बलभद्र आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बिहीबार सम्पन्न खेलहरूमा वडा नम्बर ११ र वडा नम्बर ९ विजयी हुँदै अर्को चरणमा प्रवेश गरेका छन् ।

WhatsApp Image 2026-04-30 at 7.41.42 PMबिहीबारको पहिलो खेल निकै प्रतिस्पर्धात्मक रह्यो । उक्त खेलमा वडा नम्बर ११ ले वडा नम्बर ८ लाई २–१ गोल अन्तरले पराजित गर्दै कठिन जित दर्ता गर्‍यो । खेलको १७ औँ मिनेटमा सुजन धिमालले पहिलो गोल गर्दै वडा नम्बर ११ लाई अग्रता दिलाएका थिए । त्यसपछि ३७ औँ मिनेटमा सुजित मेचेले अर्को गोल थप्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । ४० औँ मिनेटमा वडा नम्बर ८ का विवेक राजवंशीले एक गोल फर्काए पनि त्यसपछि थप गोल हुन नसक्दा खेल वडा नम्बर ११ कै पक्षमा समाप्त भयो ।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ११ का गोलरक्षक रोनिश मगर ‘म्यान अफ द म्याच’ घोषित भए । उनले खेलभरि महत्वपूर्ण बचाउ गर्दै आफ्नो टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले । मगरले नगद १ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

WhatsApp Image 2026-04-30 at 7.41.41 PMत्यसैगरी, दोस्रो खेल अझ रोमाञ्चक बन्यो । वडा नम्बर ९ र वडा नम्बर १३ बीचको खेल निर्धारित समयमा बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो । पेनाल्टीमा वडा नम्बर ९ ले ४–२ को नतिजा निकाल्दै विजयी भयो । वडा नम्बर ९ का दिप्सन श्रेष्ठ, सञ्जोग भुजेल, सुनिल बराइली र रञ्जित लिम्बूले प्रहार गरेको पेनाल्टी सफलतापूर्वक गोलमा परिणत भएको थियो ।

वडा नम्बर १३ का तर्फबाट छिरिङ तामाङ र राजिव श्रेष्ठले मात्र पेनाल्टी गोल गर्न सफल भए भने आयुष राई र खइन्द्र लिम्बूको प्रहार वडा नम्बर ९ का गोलरक्षक युवराज डाँगीले उत्कृष्ट बचाउ गरेका थिए । डाँगीको उत्कृष्ट प्रदर्शनकै कारण वडा नम्बर ९ ले जित हासिल गर्न सफल भयो । उत्कृष्ट प्रदर्शन गरेका डाँगी ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद १ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्न सफल भए ।

वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा विजेता टोलीले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभा पहिचान तथा युवाहरूमा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।