मेचीनगर । मेचीनगर–३ वडा कार्यालय अन्तर्गत रहेको खेलकुद समितिको आयोजनामा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न क्वाटरफाइनल चरणका दुई खेलपछि वडा नम्बर ५ र वडा नम्बर १२ विजयी हुँदै अन्तिम चारमा प्रवेश गरेका छन् ।

बलभद्र आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा वडा नम्बर १२ ले वडा नम्बर १० लाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको वडा नम्बर १२ ले ५ औँ मिनेटमै अग्रता लिएको थियो । निशान तामाङले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई अघि बढाए । पहिलो हाफमा अग्रता कायम राखेको वडा नम्बर १२ ले दोस्रो हाफमा थप सशक्त प्रदर्शन गर्यो । दोस्रो हाफको ११ औँ मिनेटमा मनोज राईले आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाए । बाँकी समय वडा नम्बर १० ले फर्कने प्रयास गरे पनि सफल हुन सकेन । उत्कृष्ट प्रदर्शनका लागि दुई गोलमध्ये एक गोल गरेका मनोज राई ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई वहुवन सामुदायिक वनका पूर्व अध्यक्ष भानुभक्त थापाले नगद १ हजार रुपैयाँसहित ट्रफी प्रदान गरे ।

त्यसपछि भएको दोस्रो क्वाटरफाइनल खेल झनै रोमाञ्चक बन्यो । वडा नम्बर ५ ले वडा नम्बर २ लाई कडा प्रतिस्पर्धामा ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो । खेलको ७ औँ मिनेटमै अजय तामाङले गोल गर्दै वडा नम्बर ५ लाई अग्रता दिलाए । १३ औँ मिनेटमा वडा नम्बर २ का छिरिङ तामाङले बराबरी गोल फर्काएपछि खेल थप प्रतिस्पर्धात्मक बन्यो । २२ औँ मिनेटमा राज क्षेत्रीले गोल गर्दै वडा नम्बर ५ लाई पुनः अग्रता दिलाए भने त्यसको एक मिनेटपछि २३ औँ मिनेटमा अजय तामाङले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–१ बनाए । दोस्रो हाफमा वडा नम्बर २ ले पुनरागमनको प्रयास गर्दै २० औँ मिनेटमा युजेश प्रधानमार्फत गोल फर्काए पनि त्यसपछि थप गोल हुन सकेन र खेल ३–२ मै टुंगियो । उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ५ का गोलरक्षक मौसम धिमाल उक्त खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई समाजसेवी टंक राईले नगद १ हजार रुपैयाँसहित ट्रफी प्रदान गरे ।
वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछन् ।
यससँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । भोलि हुने सेमिफाइनल अन्तर्गत पहिलो खेल वडा नम्बर ११ र वडा नम्बर १२ बीच हुनेछ भने दोस्रो खेल वडा नम्बर ५ र वडा नम्बर ९ बीच प्रतिस्पर्धा हुने आयोजक समिति सदस्य भागेन्द्र थापाले जानकारी दिएका छन् । प्रतियोगिता अब उपाधि नजिक पुगेसँगै थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

















