मेचीनगर । मेची उद्योग वाणिज्य संघको २१ निर्वाचन मिति नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्ष पदका लागि आनन्द खड्का सशक्त उम्मेदवारका रुपमा उभिएका छन् । व्यवसायीहरुको हकहित संरक्षण, उद्योगमैत्री वातावरण निर्माण र संघलाई थप सक्रिय तथा प्रभावकारी बनाउने स्पष्ट दृष्टिका साथ उनले उम्मेदवारी दिएका हुन् ।
खड्काले नयाँ ऊर्जा र जोशका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायीहरुको साथ, सहयोग र समर्थन नै आफ्नो शक्ति हुने बताएका छन् । पारदर्शी, उत्तरदायी र परिणाममुखी नेतृत्वमार्फत संघलाई सबैको भरोसायोग्य संस्थाका रूपमा अघि बढाउने उनको लक्ष्य छ ।
सामाजिक क्षेत्रमा पनि सक्रिय खड्का समस्यामा परेका हरेक व्यक्तिको साथमा उभिने व्यक्तित्वका रुपमा परिचित छन् । कोरोना महामारीका बेला उनले आफ्नै खर्चमा राहत वितरण गर्दै मानवताको उदाहरण प्रस्तुत गरेका थिए । जेनजी आन्दोलनका क्रममा करिब २ लाख रुपैयाँको व्यक्तिगत लगानीमा धुलाबारी ट्राफिक बिट निर्माणमा समेत उनले उल्लेखनीय योगदान दिएका थिए ।
मेचीनगर–१५ स्थित झापा प्लाइउडका सञ्चालक खड्काको अन्य विभिन्न उद्योगमा पनि लगानी रहेको छ । युवा व्यवसायीमाझ लोकप्रिय उनका योजना र सक्रियताले यसपटकको निर्वाचनमा उनलाई बलियो दाबेदारका रूपमा स्थापित गरेको छ ।

















