मेचीनगर । मेची उद्योग वाणिज्य संघको भोलि हुने निर्वाचनमा उद्योग उपाध्यक्ष पदका लागि युवा उद्योगी तथा व्यवसायी हरि कोइराला चुनावी मैदानमा छन् ।

लामो समयदेखि उद्योग तथा व्यापार क्षेत्रमा सक्रिय कोइराला यसअघि सम्पन्न संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । झिनो मतान्तरले पराजित भए पनि उनले व्यवसायीमाझ बलियो उपस्थिति र प्रभाव स्थापित गर्न सफल भएका छन् । 

मेचीनगर–९ निवासी कोइराला पूर्वकै प्रतिष्ठित कलर कम्पनी ‘जनता पेन्ट्स’सँग आबद्ध छन् भने एशियन लुब्रिकेन्ट्सका प्रबन्ध निर्देशकसमेत हुन् । दुई दशकभन्दा बढी समयदेखि उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आएका उनी व्यवसायीका समस्या बुझ्ने, सहकार्यमा विश्वास गर्ने तथा नयाँ व्यवसायीलाई प्रोत्साहन गर्ने व्यक्तित्वका रुपमा परिचित छन् ।

व्यावसायिक अनुभवसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका कोइरालाले विभिन्न सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहयोग गर्दै आएका छन् । सरल, सहयोगी र मिलनसार स्वभावका कारण उनी व्यवसायीमात्र नभई सामाजिक वृत्तमा पनि लोकप्रिय मानिन्छन् ।

यो निर्वाचनमा उद्योग उपाध्यक्ष पदमा उम्मेदवारी दिएका कोइरालाले उद्योग क्षेत्रको समग्र विकास, व्यवसायीका समस्या समाधान तथा व्यापार प्रवद्र्धनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । उनले उद्योगी व्यवसायीको हकहितका लागि सशक्त आवाज उठाउने, स्थानीय उद्योगलाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने तथा व्यवसायमैत्री वातावरण सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचित भए उद्योगीहरूको पीरमर्का सम्बोधन गर्दै दीर्घकालीन समाधान खोज्ने, उत्पादन वृद्धि तथा बजार विस्तारका अवसर सिर्जना गर्ने योजनासहित अघि बढ्ने उनको भनाइ छ । साथै, उद्योग क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै स्थानीय उत्पादनको प्रवद्र्धनमा विशेष ध्यान दिने उनले बताएका छन् ।

व्यवसायीहरुबीच राम्रो समन्वय क्षमता, सक्रिय नेतृत्व शैली र सकारात्मक सोचका कारण कोइरालाको उम्मेदवारीलाई यसपटक पनि निकै चासोका साथ हेरिएको छ ।