धुलाबारी । मेचीनगर–१० धुलाबारीस्थित पासाङ ल्हामु ब्याडमिन्टन क्लबको आयोजनामा दोस्रो नगरस्तरीय ए तथा बी लेबल मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता जेठ ९ र १० गते सञ्चालन हुने भएको छ। प्रतियोगिता धुलाबारीस्थित टाउन हलभित्र आयोजना गरिने आयोजकले जनाएको छ।
नगर खेलकुद विकास समितिको मुख्य प्रायोजन तथा वडा नम्बर ९, १० र १५ को सहप्रायोजनमा प्रतियोगिता आयोजना हुन लागेको हो। सहयोगी संस्थाका रूपमा राष्ट्रिय वाणिज्य बैंक धुलाबारी शाखा, नेपाल बैंक धुलाबारी शाखा, ग्लोबल आईएमई बैंक लिमिटेड धुलाबारी शाखा, उद्देश्य निर्माण सेवा तथा मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष आनन्द खड्काको सहयोग रहेको आयोजकले जनाएको छ।
“खेल खेलौँ, स्वस्थ बनौँ” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा सिनियर तथा जुनियरतर्फ प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा ए समूहमा १८ टोली तथा बी समूहमा २९ टोली सहभागी रहेका छन्। चन्द्रगढी र बुद्धशान्तिबाट समेत खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
भोलि हुने उद्घाटन खेलमा सेमिफाइनलअघिका सम्पूर्ण खेल सम्पन्न गरिनेछन् भने जेठ १० गते सेमिफाइनल तथा फाइनल खेल सञ्चालन हुने खेल संयोजक विष्णुकुमार तामाङले जानकारी दिए।
क्लबका अध्यक्ष कमल कुमार राउतका अनुसार ब्याडमिन्टन क्लबले गतवर्ष पहिलो नगरस्तरीय प्रतियोगिता आयोजना गरेको थियो। क्लबमा हाल ३२ जना सदस्य आबद्ध रहेका छन् भने दैनिक ४० भन्दा बढी खेलाडीले नियमित अभ्यास गर्दै आएका छन्। प्रतियोगिताको सचिवको जिम्मेवारी युवराज चुडालले सम्हालिरहेका छन् भने दुर्गा श्रेष्ठ सदस्यका रूपमा सक्रिय रहेका छन्।
प्रतियोगिताको ए क्याटेगोरी मेन्स डबलतर्फ विजेताले नगद रु. ११ हजार, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु. ८ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्। त्यसैगरी बी क्याटेगोरीतर्फ विजेताले रु. ८ हजार तथा उपविजेताले रु. ५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन कार्यक्रम मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले गर्ने कार्यक्रम तय भएको छ।

















