मेचीनगर । विश्व वातावरण दिवसको अवसरमा एभरेष्ट भ्यु अङ्ग्रेजी माध्यमिक विद्यालय, मेचीनगर–८ का कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले मेचीनगर–५ स्थित पातालगङ्गा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्।
वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरू, शिक्षक–शिक्षिका तथा विद्यालय परिवारको उत्साहजनक सहभागिता रहेको थियो। सरसफाइ अभियानमार्फत मन्दिर परिसरको फोहोर व्यवस्थापन गर्दै स्वच्छ र सफा वातावरण निर्माणमा योगदान पुर्याइएको थियो।
कार्यक्रममा पातालगङ्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेलको सभापतित्व तथा गुरु शङ्कर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिएका थिए।
मन्दिर व्यवस्थापन समितिले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता रचनात्मक तथा प्रेरणादायी गतिविधिले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।“स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने सन्देशलाई आत्मसात् गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

















