मेचीनगर,  १६ साउन । झापाको विर्तामोड युनाइटेड फुटबल क्लबले ‘दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप–२०८३’ को उपाधि जितेको छ। शनिबार मेचीनगर–६, काँकरभिट्टा खेलमैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा विभागीय टोली एपीएफ क्लब पकलीलाई १–० गोल अन्तरले पराजित गर्दै विर्तामोडले च्याम्पियन बन्न सफल भयो।


विर्तामोडको ऐतिहासिक जितमा जर्सी नम्बर १२ का सुजन विक नायक बने। उनले पहिलो हाफको ३९ औँ मिनेटमा पवन मास्केको उत्कृष्ट पासलाई हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यही गोल खेलको निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शनका लागि विकले म्यान अफ दि म्याच घोषित हुँदै नगद दुई हजार पाँच सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।


उपाधिसँगै विर्तामोडले एक लाख एक हजार एक सय रुपैयाँ नगद र ट्रफी हात पार्यो। उपविजेता एपीएफ पकलीले ५० हजार पाँच सय ५० रुपैयाँ नगद र ट्रफी मा चित्त बुझायो।


प्रतियोगिताका विभिन्न व्यक्तिगत विधामा पनि विर्तामोडका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। अभिषेक वराल उत्कृष्ट गोलरक्षक घोषित भए भने आशिष चापागाईँ चार गोलसहित सर्वाधिक गोलकर्ता बने। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफ पकलीका श्याम मुर्मु घोषित भए भने आयोजक काँकरभिट्टा युवा क्लबका राजु दर्जी उदयीमान खेलाडी बने। सबै विजेतालाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।


फाइनल समारोहका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेती लगायतले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए।


प्रतियोगिताको समापन समारोहमा दुई जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको थियो भने पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।


01KYYVXG3A7SAVV8YZ634F6WD6

साउन ९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी भएका थिए। प्रतियोगिताको मुख्य प्रायोजक दिव्य ज्योति आई एण्ड ईएनटी हस्पिटल, सहप्रायोजक पशुपति बोर्डिङ स्कुल तथा विशेष सहयोगी मेचीनगर नगरपालिका–६ रहेका थिए।