झापा, १५ भदाै। झापाको मेचीनगरस्थित पाँचतारे होटल मेची क्राउनले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ।

होटलका अध्यक्ष बलराम साकोटाले पर्यटन मन्त्री **खड्क प्रसाद पौडेल ‘गणेश’**लाई भेट गरी २६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरणपछि अध्यक्ष साकोटाले विपद्को पीडामा परेका नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। “प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्‍याएको यस कठिन समयमा आफ्नो ठाउँबाट पीडित नागरिकलाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो,” उनले भने।

होटल मेची क्राउनले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको जनाएको छ।

पूर्वी नेपालकै आकर्षक तथा चर्चित पाँचतारे हाेटल मेची क्राउन विशेषगरी भारतीय पर्यटकमाझ समेत लोकप्रिय छ। झापाको मेचीनगरमा रहेको होटल ‘वेडिङ डेस्टिनेसन’का रूपमा पनि परिचित रहेको छ।