झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन समाचार पोर्टल ‘हाम्रो खबरपाटी डटकम’ आठौँ वर्ष पूरा गरी आज असोज १ गतेदेखि नवौँ वर्षमा प्रवेश गरेको छ।

सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणलाई मूल आधार बनाउँदै आएको हाम्रो खबरपाटीले नवौँ वर्ष प्रवेशको अवसरमा आफ्ना सहकर्मी, सञ्चारकर्मी, पाठक, विज्ञापनदाता तथा सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ।

नवौँ वर्षको यात्रामा अझ सशक्त, जिम्मेवार र जनउत्तरदायी पत्रकारितामार्फत जनताको आवाज बुलन्द गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ। साथै, आगामी दिनमा पनि पाठक, शुभचिन्तक तथा सरोकारवालाको निरन्तर साथ, सहयोग र सुझावको अपेक्षा गरिएको छ।

सम्पादक त्रिलोचन गौतमले नवौँ वर्षको यात्रालाई थप जिम्मेवारी र चुनौतीसँगै अवसरका रूपमा लिएको बताएका छन्। उनले स्थापनाकालदेखि नै सत्य, तथ्य र निष्पक्ष पत्रकारितालाई प्राथमिकतामा राख्दै समाचार सामग्री सम्प्रेषण गर्दै आएको उल्लेख गरे।

“बदलिँदो प्रविधिको प्रयोगसँगै जिम्मेवार सञ्चारकर्म हाम्रो पहिलो प्राथमिकता हो। स्थापनाकालदेखि नै हामी ब्रेकिङको होडमा भन्दा पनि सत्य, तथ्य र निष्पक्ष समाचार सामग्री पाठकमाझ पस्किने प्रयास गर्दै आएका छौँ,” सम्पादक गौतमले भने।

सूचना तथा प्रसारण विभागमा दर्ता नम्बर १७३२ तथा प्रेस काउन्सिल नेपालमा दर्ता नम्बर ५१८ रहेको हाम्रो खबरपाटी डटकमले स्थापनाकालदेखि नै झापासहित देश तथा विदेशका समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।

नवौँ वर्ष प्रवेशसँगै सञ्चारमाध्यमलाई थप विश्वसनीय, जिम्मेवार र प्रभावकारी बनाउँदै पत्रकारिताको मूल्यमान्यतालाई आत्मसात् गर्ने संस्थाले जनाएको छ।