मेचीनगर । नेपाली कांग्रेस मेचीनगरको नगर अधिवेशन आगामी असोज १० गते हुँदैछ । नगर नेतृत्वका लागि हालसम्म दुईजना नेता चुनावी मैदानमा उत्रने देखिएको छ । वर्तमान नगर उपसभापति योगेन्द्र थापा मगर र वडा नं. ११ का सभापति भक्तबहादुर तामाङ नगर सभापतिका प्रमुख दाबेदारका रूपमा अघि आएका छन् ।

वर्तमान नगर उपसभापति थापा मगरले नगर सभापतिमा उम्मेदवारी दिने निश्चित गरेका छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा मेचीनगर–५ को वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा भने उनी एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।

जनप्रतिनिधिका रूपमा प्राप्त अनुभवलाई पार्टी संगठन सञ्चालनमा उपयोग गर्दै आएका थापा मगरले पछिल्लो समय नगर उपसभापतिको जिम्मेवारीमा रहेर नगर कांग्रेसलाई समय दिँदै आएका छन् । स्थानीय तहको अनुभव, पार्टी संगठनमा गरेको काम र नगर नेतृत्वमा रहेर हासिल गरेको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको आधार बनाएका छन् ।

त्यस्तै, मेचीनगर कांग्रेसका अर्का बलिया दाबेदारका रुपमा भक्तबहादुर तामाङ देखिएका छन् । उनी १४औँ महाधिवेशनबाट नेपाली कांग्रेस मेचीनगर–११ का वडा सभापतिमा चयन भएका थिए । वडा संगठनलाई मजबुत बनाउँदै आएका तामाङ अब नगरको नेतृत्व सम्हाल्ने तयारीमा छन् । उनलाई पार्टीका माथिल्लो तहका केही नेताहरूको समर्थन रहेको बताइएको छ ।

तामाङले आफूले वडा तहमा बसेर पार्टी संगठनलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेका छन् । विगतमा वडा पार्टीलाई मजबुत बनाउन निरन्तर सक्रिय रहेको र स्थानीय राजनीतिक गतिविधिमा पनि पार्टीका उम्मेदवारलाई जिताउन नेतृत्वदायी भूमिका खेलेको उनको भनाइ छ । विशेषगरी कालिका वनमा भएको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई विजयी गराउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गरेको तामाङ बताउँछन् ।

नगर सभापतिका लागि आफ्नो दाबी प्रस्तुत गर्दै तामाङले विगतमा नगर नेतृत्व सम्हालिसकेका नेताहरूलाई पार्टीको माथिल्लो तहमा जान र आफूलाई नगर सभापतिका रूपमा काम गर्ने अवसर दिन आग्रह गरेका छन् ।

‘मसँग समय पर्याप्त छ । समयसँगै नगर पार्टीलाई हाँक्न सक्छु,’ तामाङको भनाइ छ । नगर सभापतिको नेतृत्वका लागि दुई नेताको दाबी अघि आएपछि असोज १० गते हुने अधिवेशनलाई कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ । वडा तहदेखि नगर तहसम्मको संगठनात्मक अनुभव, नेतृत्वमा निरन्तरता र पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने विषय अधिवेशनको मुख्य बहस बन्ने देखिन्छ ।