झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै झापा क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधिका उम्मेदवारबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यसै क्रममा चन्द्रबहादुर कोइरालाले अपाङ्गता कोटाबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
प्रजातन्त्र स्थापनाको आन्दोलनदेखि पार्टी संगठन र श्रमिक अधिकारको अभियानसम्म निरन्तर सक्रिय कोइरालाले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र समानताको आदर्शलाई आफ्नो राजनीतिक यात्राको आधार बनाएका छन्। २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका कोइराला श्रमिक संगठनको स्थापनाकालदेखि नै मजदुरका हकहितका पक्षमा उभिँदै आएका छन्। टोकला चिया बगानमा श्रमिकको अधिकारका लागि केन्द्रीय नेतृत्व तहमा रहेर काम गरेको अनुभव उनीसँग छ।
काँकरभिट्टा गाउँ विकास समितिको दुई कार्यकाल उपाध्यक्ष, पार्टीको वडा समितिको उपाध्यक्ष तथा वडा सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका कोइरालाले अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता र प्रतिनिधित्व बढाउन आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने बताएका छन्। उनको उम्मेदवारीले संघर्ष, अनुभव र समावेशी प्रतिनिधित्वको सवाललाई कांग्रेसभित्र थप चर्चामा ल्याएको छ।


















