झापा । विद्यार्थी जीवनदेखि लोकतान्त्रिक आन्दोलन हुँदै नेपाली कांग्रेसको संगठन निर्माणमा निरन्तर सक्रिय रहँदै आएका लोकप्रिय युवा नेता सुदय पनेरूले झापा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै लामो राजनीतिक यात्राबाट प्राप्त अनुभवलाई अब क्षेत्रीय संगठनको नेतृत्वमा उपयोग गर्ने बताएका छन्।
पाटन क्याम्पसको उपसभापतिदेखि राजनीतिक यात्रा सुरु गरेका पनेरूले नेपाली कांग्रेस झापा जिल्ला सदस्य, मेचीनगर–१० को वडा अध्यक्ष हुँदै नेपाली कांग्रेस मेचीनगरको सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। विभिन्न तहमा जिम्मेवारी निर्वाह गर्ने क्रममा कार्यकर्ता र जनतासँग नजिक रहेर काम गरेको अनुभव नै आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधार भएको उनी बताउँछन्।
‘पदभन्दा संगठन र कार्यकर्ताको सम्मान ठूलो हो’ भन्ने भावसहित अघि बढेका पनेरूले आफ्नो अनुभव, ऊर्जा र प्रतिबद्धतालाई अझ फराकिलो बनाउँदै क्षेत्रीय संगठनलाई एकताबद्ध, गतिशील, अनुशासित र जनमुखी बनाउने संकल्प गरेका छन्। उनको संकल्पमा एकता, सहकार्य, संगठन शुद्धीकरण र कार्यकर्ताको सम्मान प्रमुख विषय छन्। उम्मेदवारी घोषणा गर्दै पनेरूले क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा पार्टीका अग्रज नेताहरूको साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।

















