धुलाबारी । विद्यालयको २ सय मिटर भित्र सूर्तीजन्य तथा मादक पदार्थ बिक्री वितरण बन्द गर्न दबाव दिँदै मेचीनगरका सक्रिय सामाजिक संघसंस्थाहरुको अगुवाईमा धुलाबारीमा अभियान सुरुवात गरिएको छ । कानुनले पनि विद्यालयको २ सय मिटर क्षेत्रभित्र ती प्रतिबन्धित सामाग्री विक्रीमा पूर्ण रोक लगाएको छ । तर, कानुन कार्यान्वयन नहुँदा सुर्तीजन्य पदार्थ खुलेआम बिक्री भइरहेको छ । सूर्तीजन्य तथा मादक पदार्थको खुलेआम विक्री वितरण भएपछि त्यसको प्रत्यक्ष असर विद्यार्थीमा परिरहेको छ । विद्यार्थीहरु कुलतमा फँस्ने सम्भावना बढेपछि इस्ट होराइजन माविको फ्यान क्लबले अरु संघसंस्थाहरुसँग समन्वय गरेर अभियान सुरुवात गरेको हो ।
जाँडरक्सी बेच्ने पाइँदैन, विद्यार्थीलाई कुलतबाट बचाऔँ जस्ता नारा लगाउँदै इस्ट होराइजन स्कूल परिसरबाट सचेतामूलक अभियान सुरु गरिएको थियो । अभियानमा विद्यार्थीसहित अभिभावक तथा संघसंस्थाका सयौँ प्रतिनिधि ब्यानर बोकेर धुलाबारी बजार सिरान, दक्षिणमा ज्यामिरगढी, पूर्वमा काँकरभिट्टा रोड र पश्चिममा चारआली रोडसँगै टोल–टोलमा सचेतामूलक र्याली गरिएको थियो । र्याली सँगसँगै ‘जिम्मेवार नागरिकको दायित्व, नाबालकलाई प्रतिबन्धित वस्तुहरु नबेच्ने प्रतिबद्धता’ लेखिएको स्टीकर धुलाबारी क्षेत्रका करिब ५ सयवटा पसलमा टाँसिएको इस्ट होराइजन फ्यान क्लबका कोअर्डिनेटर महेश खड्काले जानकारी दिए ।
र्याली पछि धुलाबारीको कोलोनीमा आयोजित सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले साझा प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा अभियानलाई साथ दिँदै स्थानीय सरकार मेचीनगर नगरपालिका, इलाका प्रहरी कार्यालय धुलाबारीसहित मेची उद्योग वाणिज्य संघ, धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज, फ्यान क्लब मेचीनगर, रोटरी क्लब अफ मेचीनगर, रोट्रयाक मेचीनगर, सञ्जीवनी महिला समूह, इस्ट होराइजन पूर्व विद्यार्थी समाज, युथ अफ मेचीनगर, प्रेस क्लब मेचीनगरले साझा ऐक्यबद्धता व्यक्त गरेका छन् ।
कोणसभामा मेचीनगर नगर शिक्षा अधिकृत होमनाथ भण्डारी, मेचीनगर वडा नं १० का वडा सदस्य विशाल कार्की, असई विनिता शेर्पा, अग्रज पत्रकार मोहन काजी, जयराम दाहाल, सबिता पाेखरेल, कपिल क्षेत्री, रेणुका डाँगी, प्रकाश खड्का, भूमि पौडेल, शर्मिला पाठक, आयुष गुप्ता लगायतले मन्तव्य राखेका थिए । सहभागी वक्ताहरुले सुर्तीजन्य तथा मादक पदार्थको खुलेआम विक्री वितरणले बालबालिकामा गम्भीर असर गर्ने भएकाले प्रतिबन्धमा कडाइ गर्नुपर्नेमा जोड दिए । उनीहरुले सुर्तीजन्य पदार्थ सेवनले बालबालिका मात्र होइन अरु नागरिकको स्वास्थ्यमा समेत गम्भीर असर गरिरहेको बताए । इस्ट होराइजन मावि फ्यान क्लबकी अध्यक्ष योगिता साहीको अध्यक्षता तथा सहसचिव निर्जला गौतमको सञ्चालनमा कोणसभा सम्पन्न भएको थियो ।

















