काँकरभिट्टा, ११ माघ । भारतको अपर बागडोग्रामा सेकेन्ड आस्ना ओपन कराते च्याम्पियनसिप भोलिदेखि सुरु हुने भएको छ ।
सो प्रतियोगितामा गतवर्ष खेलाडीहरु सहभागी गराएको काँकरभिट्टास्थित सिरिजंघा कराते एकाडेमीले यसपटक पनि प्रतिनिधित्व गर्न लागेको हो । स्थानीय मालिका विद्यालयमा सञ्चालन हुने प्रतियोगितामा उक्त एकाडेमीका राम राईले ५० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगितामा टीम कोच एवं एकाडेमीका प्रशिक्षक चिरन्जीवी सुब्बा, टीम मेनेजर एन्जल राईलगायतको टोली खेलाडीसहित सहभागी हुने भएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि सहभागिता जनाउने खेलाडीलाई आवश्यक खेल अभ्यास गराइएको एकाडेमीले जनाएको छ ।
नेपाल र भारतका खेलाडीले भाग लिने प्रतियोगिताका पदक विजेताले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ । अपर बागडोग्राका पुनम राईले छोरीको स्मृतिमा गत वर्षदेखि उक्त प्रतियोगिता आयोजना गर्न थालेका हुन् ।

















