झापा, २५ जेठ । छोराको आठौँ जन्मदिनको अवसरमा मेचीनगर–५ स्थित मेची आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्कुल पोशाक वितरण गरिएको छ।
स्वाभिमान खवासको जन्मदिनको अवसर पारेर बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत ६५ जना विद्यार्थीलाई हाउस ड्रेस (स्कुल पोशाक) प्रदान गरिएको हो। कार्यक्रम स्वाभिमानका पिता सन्तोष खवास र आमा सिर्जना खवासको उपस्थितिमा सम्पन्न भयो।
कार्यक्रममा विद्यालयका शिक्षकहरूको समेत सक्रिय सहभागिता रहेको थियो। स्वाभिमानका बुबा सन्तोष खवासले भने, “हामी छोराको जन्मदिनलाई भोजभतेरमा खर्च नगरी समाजका आवश्यकता भएका बालबालिकासँग खुसी बाँड्न चाहन्छौँ। यस्ता कार्यले बालबालिकामा खुसी ल्याउनुका साथै समाजमा सकारात्मक सन्देश पनि जान्छ भन्ने हाम्रो विश्वास छ।”
खवास परिवारले विगत वर्षहरूमा पनि जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय, गुरुकुल, अनाथ आश्रम, बाल आश्रम तथा एकल महिलाहरूलाई खाद्यान्न वितरण गर्दै आएको छ।