मेचीनगर । झापाका मेचीनगर–१० स्थित आम्दा मेची अस्पतालको ल्याबलाई नेपाल सरकारले ‘सी’ वर्गको  ल्याबको मान्यता दिएको छ। आम्दा नेपालद्वारा सञ्चालित अस्पतालले पछिल्लो समय सेवा विस्तार तथा स्तरोन्नतिको क्रमलाई तीव्रता दिँदै आएको छ।

सरकारी मान्यता प्राप्त भएपछि अस्पतालको प्रयोगशालामा थाइराइड, भिटामिन डी, भिटामिन बी–१२, ब्लड कल्चर, युरिन कल्चरजस्ता विशेष परिक्षणहरू सहज रूपमा उपलब्ध हुन थालेका छन्। स्नातकोत्तर तथा स्नातक तहका दक्ष प्रयोगशाला प्राविधिकद्वारा यी परिक्षणहरू न्यूनतम शुल्कमा सेवा लिने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

अब यस्ता परिक्षणका लागि बिर्तामोड वा अन्य ठाउँ धाउनु पर्ने बाध्यता हटेको भन्दै अस्पताल प्रशासनले यो उपलब्धिलाई मेचीनगरवासीका लागि गर्वको विषय भनेको छ। “यो मेचीनगरमै सञ्चालनमा आएको पहिलो ‘सी’ वर्गको प्रयोगशाला हो, जसले यहाँका बासिन्दालाई गुणस्तरीय सेवा आफ्नै नगरभित्रै उपलब्ध गराएको छ,” अस्पतालका प्रशासकीय अधिकृत किरण निरौलाले बताए। स्वास्थ्य सेवा पहुँचयोग्य बनाउँदै लगेको आम्दा मेची अस्पतालले आगामी दिनमा थप सेवा विस्तार गर्दै लैजाने योजना रहेको पनि प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए।