मेचीनगर । झापा मेचीनगर–१० रेडक्रस टोलका बासिन्दा सूर्यप्रसाद राई प्रायः गरिबदुःखीका माझमा भेटिन्छन् । उनमा कुनै स्वार्थ छैन । बस् यति हो, समाज बदल्ने हुटहुटी मात्रै । हो, तिनै राई तल्लो वर्गका मान्छेकहाँ पुगेर समाज बदल्न सकारात्मक बाटो देखाउने प्रयत्न गरिरहेका छन् । उमेरले ४८ वर्ष पुगेका राईले लामो समय लाहुरे जीवनमा बिताएका छन् । परिवारलाई खुशी राख्न उनी भारतीय लाहुरमा भर्ती भए । झण्डै ३० वर्ष लाहुर भासिए । पाँचथर फिदिममा जन्मिएका सूर्यप्रसाद राईले त्यहीँबाट एसएलसी उत्तीर्ण गरे । इलाम बहुमुखी क्याम्पसबाट उच्च शिक्षा उत्तीर्ण गरेपछि उनी भारतीय सेनामा भर्ती भए । त्यसबेला उनी १७ वर्षका मात्रै थिए ।


एउटा कलिलो केटो जीवनमा बदलाव ल्याउनका निमित्त सेनाको जागिर खान विवश भए, त्यो पनि पराई मुलुकमा गएर । उनको लाहुरे जीवन पक्कै पनि सहज भएन होला, असहजका बाबजुत तीन दर्शक बिताएर रिडायर्ड भए । त्यसबेलाको कठिन जागिरे संघर्षबाट प्राप्त रकम जोहो गरेर उनले धुलाबारीलाई कर्मथलो बनाउने अठोट गरे । फलस्वरुप राईले २०५९ सालमा धुलाबारीमा घर बनाएर परिवारलाई सहारा दिए । लामो समय विदेशमा लाहुरे जीवन बिताएका सूर्यप्रसाद बेला–बेला आउआउ गरिरहन्थे । उनले भने, ‘म धुलाबारी घर समय मिलाएर आइरहन्थे । यहाँको आफ्नो परिवार र समाजका बारेमा बुझ्ने काम गरिरहन्थे ।’


समय बित्दै गयो । जागिरे जीवन सकिएपछि धुलाबारी उनको लागि कर्मथलो बनेको छ । यहाँ बसिरहँदा समाजमा देखिने गरीका काम उनले गरिरहेका छन् । तर, उनी आफूलाई चिनाउन खासै रुचाउँदैनन् । राम्रो काम गर्ने मानिस अक्सर नेपथ्यमै हुने गर्दछन् भने झैँ सूर्यप्रसाद राईले समाजलाई आँखीझ्यालबाट चियाइरहेका छन् । उनको हेराईमा समाज खासै बदलिएको छैन । समाजमा व्याप्त विभेद, विकृति, भ्रष्टाचार, असमानले अझै जरा गाडेको छ । पुरातन सोच अझै पनि परिवर्तन नभएको उनको बुझाइ छ । ‘यहाँ मान्छेले मान्छेलाई हेर्ने नजर ठीक छैन,’ हामीसँगको भेटमा उनले भने, ‘गाउँदेखि नै बलियो सोच राख्ने हो भने मात्र देश बन्छ, नत्र बन्दैन ।’ धनी वर्गले गरिब वर्गलाई शोषण गर्न नहुने उनको तर्क छ । त्यही भएर सूर्यप्रसाद राई तिनै गरिबको पक्षमा वकालत गरिरहने बताउँछन् ।


मानव आश्रमदेखि चर्चसम्म

मेचीनगर–४ मा मानव आश्रम सञ्चालनमा छ । ती अभिभावकविहीन मान्छेको पीडा देखेर सूर्यप्रसादको मन पोलिरहन्छ । आखिर तिनीहरु पनि हामी जस्तै हुन् । तिनीहरुलाई किन मान्छेको व्यवहार गरिँदैन ? तिनीहरुलाई हुनेले सहयोग गरे बाँच्न त पाउँछन् ! उनको मन यी प्रश्नहरु तेर्सिरहेका छन् । उनीहरुको दुःख देखेर सूर्यप्रसादले करिब ६० हजार रुपैयाँको खाद्यान्न सामग्री हस्तान्तरण गरे ।

त्यति मात्रै होइन, उनले धुलाबारीको हिमालयन टोलमा रहेको चल्तीको जग्गा एक कट्ठा मण्डली घर बनाउन दान दिए । आज त्यहाँ मण्डली घर सञ्चालनमा छ । मण्डली घरको उद्देश्य कुलतमा फँसेका युवालाई सत्मार्गमा ल्याउने रहेको छ । युवाहरुको मनलाई मण्डली घरसम्म ल्याएर असल संस्कार सिकाउन खोजिएको उनी बताउँछन् । कुनैबेला मेचीनगर–१० स्थित न्यू कृषिमार्ग नमूना टोल विकास संस्थाका मानिसलाई बचत गराउने बानीको विकास गराउन उनैले भूमिका खेलेका थिए । सबैखाले धर्म मान्ने मान्छेको बसोबास रहेको उक्त टोलमा छिमेकबीच बोलचाल पनि थिएन । तर, सूर्यप्रसाद राईले धर्मभन्दा माथि उठेर आर्थिक जीवनस्तर उकास्नका लागि बचत समूह खडा गरे । आज त्यस समाजमा आपसी भाइचारा र दुःखसुख पर्दा आफूले बचत गरेको पैसाले जीवनमा ठूलो काम गरिरहेको छ ।   


समाज बनाउने उपाय

समाज बनाउन ठूलो काम गरिहनु पर्दैन । यति हो, गरिब मान्छेलाई हमेसा सहयोग गर्नुपर्ने उनी बताउँछन् । ‘वास्तविक मान्छेको दुःखसुख बुझेर उनीहरुमा आत्मबल बढाउनु पर्छ,’ उनी भन्छन्, ‘त्यसका लागि सबैले सबैमा समान व्यवहार देखाउनु पर्दछ, किनकि हामी सबै मान्छे एउटै हौँ ।’

उनलाई गाउँ, समाज र देश बनेको हेर्न मन छ । तर, उनको मात्रै बलबुताले समाज बन्ला त ? उनीसँग त्यसको जवाफ पनि छ, ‘पहिले आफूबाट सुरु गरौं, जो जहाँ भए पनि हुनेले नहुनेलाई सहयोग गरौं । कसो नबन्ला त !’ सूर्यप्रसादले भविष्यमा पूर्वदेखि पश्चिम महाकालीसम्मको यात्रा गर्ने लक्ष्य राखेका छन् । यात्राका क्रममा तिनै गरिबदुःखी मान्छेका समस्या बुझ्ने प्रयास गर्नेछन् । ‘हरेक सहयात्री, धार्मिक आस्थावान साथीहरुसँग हातेमालो गर्दै अभियान सञ्चालन गर्ने सोच राखेको छु ।’ उनका अनुसार सबै धर्मले मान्छेलाई ‘समान व्यवहार गर’ नै भन्ने गरेको उनी सुनाउँछन् ।